
कोहलपुर बाँके माघ ९– बाँकेको दोस्रो ठुलो सहर कोहलपुरको मुख्य रोडमा जेब्रा क्रसिङ मेटिएको छ । जसले गर्दा यात्रा गर्ने अधिकांश यात्रुलाई सास्ती भएको छ । कोहलपुरको न्युरोड, साझा चोक, इलाका प्रहरी रोड, लगायत अधिकाशं मुख्य सडकमा जेब्रा क्रसिङ मेटिदा यात्रुलाई असहज भएको हो ।
जेब्रा क्रसिङहरू मेटिदाँपनि सरोकारवालाको ध्यान जान सकेको छैन । जेब्रा क्रसिङ मेटिएको लामो समय हुँदापनि समयमै रङरोगन हुन सकेको छैन । यसले गर्दा एकातिर यात्रुलाई सडक पार गर्न अप्ठ्यारो हुने गरेको छ भने अर्कातिर दुर्घटनाको जोखिम निम्त्याएको छ । ट्राफिक प्रहरीलाई पनि यात्रुलाई ट्राफिक नियम पालना गराउन समस्या हुने गरेको छ । जेब्रा क्रसिङ नदेखिदाँ यात्रामा असहज हुने गरेको पैदल यात्रुहरु बताउँछन् ।
जेब्रा क्रसिङ मेटिंदा ट्राफिक प्रहरीलाई पनि कठिनाइ हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रमुख गोपिकृष्ण सुवेदीले बताउनु भयो । जेब्रा क्रसिङ निर्माणको लागि सडक विभाग संग समन्वय गरेको प्रमुख सुवेदीले जानकारी दिनु भएको छ ।
जेब्रा क्रसिङमा हुने दुर्घटना कमि ल्याउनको लागि ट्राफिक प्रहरी बाँकेले स्थानिय तहसंग समन्वय गरी प्रत्येक पालिकामा स्वयंसेवक खटाउने, विद्यालय तथा कलेजमा सचेतना कक्षा संचालन गर्ने लगायतका अभियान चलाइरहेको छ ।
यस्तै कोहलपुर नगरपालिका नगर प्रहरी प्रमुख विरबहादुर थापाले गत मंसिरमा जेसीज सप्ताहाको अवसरमा सामान्य पेन्टिङ गरिएको बताउनुभयो । तर एक महिनामा नै मेटिएकोले सरोकारवालासँग समन्वय भइरहेको नगर प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो ।
उहाँले जेब्रा क्रसिङ निर्माण र सडक लाइटको लागि सडक विभिाग नेपालगन्जलाई पत्राचार गरी सकेको बताउनुभयो । जाडोको समयमा गर्न नमिल्ने भन्दै फागुनको महिनामा निर्माण गरीने उहाँको भनाइ छ । कोहलपुरको न्युरोड, इकाला प्रहरी रोड, साझा चोक, हाइस्कुल जस्ता स्थानका जेब्रा क्रसिङ मेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्