
बाँके, बैजनाथ– बैजनाथ गाउँपालिकाको आयोजना तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जको सहकार्यमा शुक्रबार एक दिने सुशासन तथा स्थानीय सरकार सञ्चालन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
प्रशिक्षण कार्यक्रममा सुशासन, कर्मचारी व्यवस्थापन, भुक्तानी प्रक्रिया तथा स्थानीय सरकार सञ्चालनसँग सम्बन्धित विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूलाई प्रशासनिक पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार न्यूनीकरण तथा सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उपायहरूबारे प्रशिक्षण दिइएको थियो।
सुशासन भनेको पारदर्शिता, जवाफदेहिता, कानुनी शासन, सहभागिता, समानता, प्रभावशीलता, समावेशिता तथा उत्तरदायित्वमा आधारित शासन प्रणाली हो। यसले भ्रष्टाचार न्यूनीकरण गर्दै सरकारी तथा सार्वजनिक संस्थाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गर्छ।
प्रशिक्षण कार्यक्रममा गाउँपालिकाका कर्मचारीहरू, जनप्रतिनिधिहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। स्थानीय सरकार सञ्चालनलाई अझ प्रभावकारी बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको सहभागिहरूले बताए।
प्रतिक्रिया दिनुहोस्