Close sidebar

बैजनाथमा नमूना समाज विकास केन्द्रको भवन शिलान्यास

बैजनाथ (बाँके), चैत २५ – बाँकेको बैजनाथ गाउँपालिका-५, बनकटवामा नमूना समाज विकास केन्द्रको भवन शिलान्यास सम्पन्न भएको छ। लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमल्सिनाले उक्त भवनको शिलान्यास गर्नुभएको हो।

शिलान्यास कार्यक्रममा बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही, उपाध्यक्ष निर्मला रोकाया, वडा नम्बर ३ का अध्यक्ष निखिल बैगार, वडा नम्बर ४ का अध्यक्ष प्रेम बहादुर शाही, वडा नम्बर ५ का अध्यक्ष देब बहादुर रावत, वडा नम्बर ६ का अध्यक्ष भुपाल पुन मगर, वडा नम्बर ८ का अध्यक्ष भग्गन थारु तथा स्थानीय समाजसेवी डम्बर रावतलगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी र सर्वसाधारणको उपस्थिति थियो।

कार्यक्रममा विशेष अतिथिका रूपमा रहेका बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले नमूना समाज विकास केन्द्रले ग्रामीण भेगमा बसेका भुमिपुत्रहरूमाझ सिकल सेल एनेमिया रोग परीक्षण तथा डाटा संकलन, कृषि सम्बन्धी कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राख्दै संस्था सञ्चालन भइरहेकोमा प्रशंसा गर्दै गाउँपालिकाले आवश्यकतानुसार साझेदारी मार्फत कार्यक्रम सञ्चालनमा प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, प्रमुख अतिथि मन्त्री तिमल्सिनाले ग्रामीण केन्द्रित संस्थाहरूको विकासमा सरकारको साथ रहने बताउँदै नमूना समाज विकास केन्द्रको भवन शिलान्यास गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले विकासका कार्यहरूलाई व्यक्तिगत वा दलगत रूपमा प्रचार गर्न नहुने भन्दै सरकारको राम्रो कामको प्रशंसा र गलत कार्यको आलोचना गर्ने संस्कृति विकास गर्नुपर्ने बताउनुभयो। साथै, राजसंस्थाका लागि गरिएको आन्दोलन निराधार रहेको उल्लेख गर्दै विभिन्न कालखण्डका आन्दोलनहरूले गणतन्त्र स्थापना भएको स्मरण गराउनुभयो। थारु समुदाय, दलित तथा पिछडिएको वर्गलाई संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशीताले गणतन्त्रलाई संस्थागत गरेको हुँदा राजतन्त्र फर्कने सम्भावना नरहेको उहाँको भनाइ थियो।

लुम्बिनी प्रदेश सरकारले उक्त भवन निर्माणका लागि १० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ। मन्त्री तिमल्सिनाले शिलान्यास गर्दै आगामी दिनहरूमा समेत सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रमको समापन गर्दै नमूना समाज विकास केन्द्रका अध्यक्ष टिकाराम रिजालले सबै सहभागीप्रति आभार व्यक्त गर्नुभएको थियो भने संस्थाका सचिव प्रेम बहादुर खत्रीले कार्यक्रमबारे जानकारी गराउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा अपडेट

समाचार

विविध!