Close sidebar

विद्युत प्राधिकरणले सडक बत्तीको पैसा मागेपछि विराटनगर महानगरले माग्यो पोल भाडा र सम्पत्ति कर

विराटनगर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणले एक–अर्कालाई भुक्तानी तिर्न ताकेता गरेका छन् । विद्युत महसुल तिर्न बाँकी रहेको भन्दै विद्युत प्राधिकरणले महानगरपालिकाको तीन वटा वडाका सडक बत्तीको लाइन काटेको थियो । लगत्तै पत्र लेखेर महानगरपालिकाले सम्पत्ति कर र बिजुलीको पोलको भाडा तिर्न ताकेता गरेको हो ।

विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका अनुसार महानगरपालिकाले सडक बत्तीको मात्रै ८ करोड ६६ लाख ८ हजार ७ सय ७ रुपैयाँ तिर्न बाँकी छ । गत २१ असोजमा बक्यौता तिर्नका प्राधिकरणले गोरखापत्रमा ४५ दिने सूचना निकालेको थियो ।

सडकबत्तीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले महानगरका तीन वटा वडाका सडक बत्तीको विद्युत काटेको प्राधिकरणको विराटनगर वितरण केन्द्र प्रमुख सरोजकुमार साहले बताए । बुधबार प्राधिकरणले काटेको बिजुली महानगरले फेरि जोडेको थियो ।

प्राधिकरणबाट बक्यौता तिर्न दबाब आएपछि महानगरपालिकाले बिहीबार विद्युत प्राधिकरणलाई पत्र लेख्दै सम्पत्ति कर र महानगरभित्र रहेका बिजुलीको पोलको भाडा तिर्न आग्रह गरेको छ । महानगरपालिकाले बिजुलीको खम्बा इन्टरनेट सेवा प्रदायकलाई दिएबापत भएको आम्दानीको १० प्रतिशत बहाल कर पनि तिर्न आग्रह गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बिहीबार प्राधिकरणलाई पठाएको पत्रमा सम्पत्ति कर ३ करोड ८१ लाख ८५ हजार ७३३ रुपैयाँ तिर्न बाँकी रहेको उल्लेख छ । महानगरमा २३ हजार १५१ वटा बिजुलीका पोल छन् । महानगरले ती पोलको सात वर्षको ६ करोड १९ लाख २८ हजार ९२५ रुपैयाँ भाडा बुझाउन ताकेता गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विविध!