Close sidebar

बैजनाथमा होली मिलन कार्यक्रम सम्पन्न

बाँके: नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दल बैजनाथ गाउँपालिका ३ नम्बर वडाको आयोजनामा बैजनाथ गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल लाईन्स गाभर पार्कमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य एवं बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ (क) प्रदेश सचिव एवं बैजनाथ ३ का वडा अध्यक्ष निखिल बैगार, नेपाली कांग्रेस बैजनाथ सभापति देब बहादुर केसी, बैजनाथ ३ वडा सभापति एवं सामाजिक विकास समिति संयोजक भुमिसरा राना, सचिव धन बहादुर थापा लगायत स्थानीय युवाहरू, नेताहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा फागु पूर्णिमा (होली पर्व) २०८१ को अवसरमा शुभकामना आदानप्रदान, आपसी सद्भाव अभिवृद्धि, सांस्कृतिक झल्को प्रस्तुत गर्दै रंग-अबिरका साथ रमाइलो नृत्य गरिएको थियो। तरुण युवा सचिन मेघनाथका अनुसार कार्यक्रममा सहभागीहरूले एकअर्कालाई अबिर लगाएर रमाइलो गर्दै होली पर्वलाई उल्लासमय ढंगले मनाए।

नेपाल कांग्रेस महासमिति सदस्य एवं पालिका अध्यक्ष प्रकाश बहादुर शाही, वडा अध्यक्ष निखिल बैगार, नेपाली कांग्रेस बैजनाथ सभापति देब बहादुर केसी लगायत नेताहरूले होली पर्व आपसी मेलमिलाप, प्रेम, सद्भाव र भाइचारा बढाउने महत्वपूर्ण चाड भएको उल्लेख गर्दै शुभकामना दिएका थिए। तरुण युवा बिसन गुरुङका अनुसार, यो कार्यक्रमले बैजनाथका युवाहरूलाई एकसाथ ल्याउने, सामाजिक सद्भाव बढाउने र स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य बोकेको थियो।

होली पर्वको महत्व:होली हिन्दू धर्मावलम्बीहरूको प्रमुख चाड हो, जुन फागु पूर्णिमाका दिन मनाइन्छ। यो चाड रंगको चाड भनेर चिनिन्छ, जसले समाजमा सद्भाव, प्रेम, र आपसी मेलमिलापको भावना प्रवर्द्धन गर्छ।

होली पर्वको पौराणिक महत्त्व भगवान विष्णुका भक्त प्रह्लाद र असुर राजा हिरण्यकश्यपको कथासँग जोडिएको छ। धार्मिक मान्यताअनुसार, हिरण्यकश्यपले भगवान विष्णुको भक्त प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिका लाई आगोमा बस्न लगाएका थिए, तर भगवान विष्णुको कृपाले होलिका जलेर नष्ट भइन् र प्रह्लाद बच्न सफल भए। त्यसपछि असत्यमाथि सत्यको विजयको प्रतीकस्वरूप होली मनाउन थालियो।

यसैगरी, कृष्ण-राधा प्रेम कथासँग पनि होली जोडिएको छ। भगवान श्रीकृष्णले राधा र गोपिनीहरूसँग रंग खेल्दै होली पर्वलाई माया, रमाइलो र उल्लासको चाड का रूपमा प्रचलित गराएका थिए।

समाजमा होलीको भूमिका
. आपसी एकता र मेलमिलाप बढाउँछ – समाजमा मनमुटाव भएका व्यक्तिहरूले समेत एकअर्कालाई रंग लगाएर नयाँ सुरुवात गर्छन्।
. सांस्कृतिक र धार्मिक महत्व बोकेको चाड हो – हिन्दू धर्मअनुसार यो सत्यको जीत र प्रेमको उत्सवको रूपमा मनाइन्छ।
. पर्यटन प्रवर्द्धन गर्छ – विशेषगरी नेपालका पर्यटन स्थलहरूमा होली पर्व विशेष आकर्षणको रूपमा रहने गर्छ।
. युवाहरूलाई सकारात्मक उर्जा प्रदान गर्छ – नृत्य, गीत र रमाइलो वातावरणले युवाहरूलाई सामूहिक रूपमा समाजमा एकता कायम राख्न प्रेरित गर्छ।
बैजनाथ गाउँपालिकामा आयोजित यो होली मिलन कार्यक्रमले स्थानीय समाजमा सद्भाव, आपसी प्रेम र सामाजिक एकता बढाउने मात्र नभई, पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्याएको तरुण युवा बिसन गुरुङले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा अपडेट

समाचार

विविध!